नेपाली भाषा र साहित्यको विस्तृत अभ्यास सङ्गालो
Enviado por Anónimo y clasificado en Otras materias
Escrito el en
hindi con un tamaño de 11,55 KB
१. व्याकरण: पदयोग र पदवियोग अभ्यास
प्रश्न: दिइएको अनुच्छेद पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्:
माइकल फेराडे ले जीवनको उत्तरार्ध मा थुप्रै पैसा आउने जागिर पाएतर उनले छँदा खाँदाको जागिर छाडेर एकोहोरो अनुसन्धानमालागे । त्यति वेला उनलाई पुन पैसाको सङ्कटपर्यो । उनी बिरामीपनि परे । यस्तो अवस्थामा पत्नीसाराले उनलाई दिलोज्यानले साथदिइन् र सेवा गरिन् । उनको योगदानको कदर गर्दै तत्कालीनराजा विलियमबाट वर्षको ३०० पाउन्ड पेन्सनको व्यवस्थाभयो ।
उत्तर: माइकल फेराडेले जीवनको उत्तरार्धमा थुप्रै पैसा आउने जागिर पाए तर उनले छँदाखाँदाको जागिर छाडेर एकोहोरो अनुसन्धानमा लागे। त्यति बेला उनलाई पुनः पैसाको सङ्कट पर्यो। उनी बिरामी पनि परे। यस्तो अवस्थामा पत्नी साराले उनलाई दिलोज्यानले साथ दिइन् र सेवा गरिन्। उनको योगदानको कदर गर्दै तत्कालीन राजा विलियमबाट वर्षको ३०० पाउन्ड पेन्सनको व्यवस्था भयो।
२. शब्दभण्डार र वाक्य रचना
पर्यायवाची शब्दहरू
- वेत्ता: विज्ञ
- काम: कार्य
- पत्यार: विश्वास
- नवीन: नयाँ
- रूपान्तरित: परिवर्तित
- प्रसङ्ग: विषय, सन्दर्भ
- शिक्षार्थी: विद्यार्थी
वाक्यमा प्रयोग
- शिक्षण: गुरुआमाले दैनिक शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्नुहुन्छ।
- पाठ्यक्रम: हाम्रो कक्षाको बुकऱ्याकमा पाठ्यक्रम पनि छ।
- बहुबौद्धिकता: हाम्रो साथी रोशनमा पनि बहुबौद्धिकता छ।
- विकास: सबै मिली काम गर्न सके समाज र देशको विकास छिट्टै हुन्छ।
- विश्वास: यस भिडियोले विद्यार्थीलाई सहयोग पुग्ने विश्वास लिएकी छु।
३. बोध र अभिव्यक्ति: पत्र र निवेदन
मौखिक प्रश्नोत्तर
(क) चिठी कसले कसलाई लेखेको हो?
उत्तर: चिठी शिक्षा तालिम केन्द्र रुपन्देहीले पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरलाई लेखेको हो।
(ख) तालिमको विषयवस्तु के रहेछ?
उत्तर: तालिमको विषयवस्तु नेपाली भाषा शिक्षकका लागि शिक्षण र प्रविधि सम्बन्धी तालिम रहेछ।
(ग) तालिमको मुख्य उद्देश्य के हो?
उत्तर: तालिमको मुख्य उद्देश्य शिक्षण सिकाइलाई प्रभावकारी बनाउनु हो।
पत्रको नमुना: विज्ञ खटाइएको सम्बन्धमा
पाठ्यक्रम विकास केन्द्र
सानोठिमी, भक्तपुर
मिति: २०७८/१२/१५
श्रीमान् प्रमुख,
शिक्षा तालिम केन्द्र, रुपन्देही।
विषय: नेपाली विषयका विज्ञ खटाइदिएको सम्बन्धमा।
प्रस्तुत विषयमा त्यस तालिम केन्द्रले माध्यमिक शिक्षा (कक्षा ९-१०) नेपाली भाषा विषयका शिक्षकका लागि शिक्षण विधि र प्रविधि सम्बन्धी तालिमको आयोजना गर्न लागेको रहेछ। यस केन्द्रबाट नेपाली भाषा पाठ्यक्रममा समयानुकूल परिमार्जन गरिएका पाठ्यक्रम तथा पाठ्यपुस्तक शिक्षण विधिबारे छलफल र अन्तरक्रिया गर्ने उद्देश्यले तालिमको आयोजना गरेको कुरा अति नै सह्रानीय रहेको छ। त्यस कार्यका लागि तपाईहरूले माग गरे बमोजिम विषयवस्तुको सिकाइ सहजीकरणका लागि मिति २०७८ चैत २० गतेदेखि २३ गतेसम्म नेपाली विषयका विज्ञ उपलब्ध गराइदिएको जानकारी गराइन्छ।
४. स्वास्थ्य सचेतना: डेंगु रोग सम्बन्धी जानकारी
डेंगु (Dengue Fever) बाट बचौँ
डेंगु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने एक सरुवा रोग हो। यो रोग लागेको मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।
मुख्य लक्षणहरू:
- जाडो हुँदै उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरू बेस्सरी दुख्ने।
- छाला मुनि रगत जमेको धब्बाहरू देखा पर्ने।
- नाक, गिजा वा शरीरका अन्य अङ्गहरूबाट रगत बग्ने।
बच्ने उपायहरू:
- पुरा जिउ ढाक्ने लुगा लगाएर मात्र बाहिर निस्कौँ।
- पानी जम्ने भाँडाहरू, टायर, कुलर र गमलाहरू सफा राखौँ।
- 'खोज र नष्ट गर' अभियानमा सहभागी बनौँ।
५. नेपाली लोकबाजा: निबन्ध र सांस्कृतिक पहिचान
नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक हो। यहाँका हरेक जातिसँग आफ्नै मौलिक बाजाहरू रहेका छन्:
- नेवार: धिमे, ढाँचा, करखिङ, नगरा, पोङ्गा।
- लिम्बू: च्याब्रुङ, तुङगेवा, फेन्चे बाजा।
- मगर: मादल, मुर्चुङ्गा, डम्फु।
- तामाङ: ग्यापुङ, सरुङ्गे, सिनडुङ।
- ब्राह्मण/क्षेत्री: शङ्ख, घण्ट, खैजडी, मुजुरा।
"मौलिक बाजा सङ्कटमा पर्नु भनेको हाम्रो पहिचानसमेत सङ्कटमा पर्नु हो।"
६. आमाको तस्बिर: कविता विश्लेषण
कवि भूपिनद्वारा रचित यस कविताले आमाको निस्वार्थ माया र सन्तानको विदेसिनु पर्ने बाध्यतालाई चित्रण गरेको छ।
मुख्य भाव:
आमाले अनेक दुःखकष्ट सहेर सन्तानलाई हुर्काउँछिन्। तर, जब सन्तान आमाको सहारा बन्ने बेला हुन्छ, ऊ पासपोर्ट र भिसाको चक्करमा सात समुद्र पारि पुग्छ। कविताले स्वदेशमै बसेर आमाको सेवा गर्न नपाएकोमा 'म' पात्रको पश्चात्ताप व्यक्त गरेको छ।
७. भविष्य निर्माण: बाल मनोविज्ञान कथा
कथाकार देवकुमारी थापाले यस कथामा बालबालिकाको मस्तिष्कमा घरायसी वातावरणले पार्ने प्रभावबारे चर्चा गरेकी छन्।
निष्कर्ष:
बालबालिकाहरू अनुकरणप्रिय हुन्छन्। उनीहरूको अगाडि गरिने हिंसात्मक कुराले उनीहरूलाई विद्रोही बनाउन सक्छ भने सकारात्मक र शान्तिका कुराले उनीहरूलाई असल नागरिक बनाउन मद्दत गर्दछ। नरेशको पात्र मार्फत कथाले शान्ति र सद्भावको सन्देश दिएको छ।